विकराल बन्दै वन डढेलो

विकराल बन्दै वन डढेलो

काठमाडौँ - देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । 

वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ । 

महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने जानकारी दिनुभएको छ । “आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन । अन्य भू–भागमा भने मौसम सफा रहनेछ ।” 

वन डढेलो नियन्त्रणकै कारण ललितपुरमा दुई जनाले ज्यान गुमाइसकेका छन् । गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारीको मङ्गलबार तथा रमेश पहारीको आज बिहान मृत्यु भएको हो ।

प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र सुक्खा भएका कारण वन डढेलो नियन्त्रणमा आउन गाह्रो भइरहेको बताउनुभएको छ । “आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ”, उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावाहुरीले वारिको आगो पारि पु¥याएर डढेलो फैलिरहेको छ ।”

उहाँका अनुसार डढेलोबाट सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्ला प्रभावित भएका छन् । वन डढेलोका कारण ज्यान र मानवीय बस्ती नै कसरी बचाउने भन्ने चिन्ता भएको उहाँको भनाइ छ । शर्माले वन डढेलोका कारण बर्सेनि ८० घर जल्ने गरेको जानकारी दिनुभएको छ । 

उहाँका अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुन्छन् । “८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छ  । यस कारण अहिले हामी उच्च जोखिमको समयमा छाँै”, शर्माले भन्नुभयो, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलोको घटना बढी हुने गरेको पाइन्छ ।”

वनविज्ञ डा सोनी बराल गौलीले वनको दिगो व्यवस्थापन हुन नसक्दा वन डढेलोको घटना पनि बढिरहेको भन्दै संरक्षणमुखी वन व्यवस्थापनमा भन्दा व्यवस्थापनमुखी वन विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

डिभिजन वन कार्यलय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइरालाले जङ्गली जनावारले घरपालुवा जनावारलाई आक्रमण गर्ने र जङ्गली जनावर धपाउनका लागि पनि वनमा आगो लगाउने गरेको जानकारी दिनुभयो । मानवीय कारणले नै जङ्गलमा आगलागीका घटना बढिरहेको उहाँको भनाइ छ । 

वन डढेलो नियन्त्रण गर्नकै लागि अहिले डिभिजन वन कार्यालयले व्यापक जनचेतनाका कार्यक्रम सुरु गर्न थाल्नुभएको छ । यस्ता घटनामा मानवीय गतिविधि रोक्न केही डिभिजन वन कार्यालयले सिसी क्यामरा जडान कार्यसमेत सुरु गर्न थालेको छ । 

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जाना जान लगाउनेजस्ता मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजन वन अधिकृतको भनाइ छ । सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि वनविद्हरुको सुझाव छ । 

कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदीले मानिसले जानाजान जङ्गलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सिसी क्यामरा जडान अगाडि बढाइएको बताउनुभएको छ । “हाल दुई वटा सिसी क्यामरा जडान भइरहेको छ, अब सिसी क्यामरा जडानको प्रक्रियालाई प्राथमिकतामा राखेर अगाडि बढाउने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो, “नभए त जङ्गलमा गएर आगो लगाउने गतिविधि नै नरोकिने भयो । कारबाहीको दायरामा ल्याउन पनि सहज हुनेछ ।”

यस्तै अन्य डिभिजन वन कार्यालयले पनि यस्ता मानवीय गतिविधि नियन्त्रणका लागि वन क्षेत्रमा सिसी क्यामरा राख्ने तयारी गरेको जनाइएको छ । यसका साथै वनका पातपतिङ्गर सफा गरेर आगलागी हुन नदिनेलगायतका कार्य अगाडि बढाइएको छ । 

मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । “कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ”, ऐनमा उल्लेख छ । 

वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ । 

वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ । 

- प्रगति ढकाल