क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी
काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा आज सुनुवाइका लागि पेसी तोकिएको छ ।
सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।
यसअघि वैशाख १६ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो ।
यस्तै, वैशाख १० गते न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।
यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो । उक्त कागजात प्राप्त हुँदा पनि पटक पटक पेसी स्थगित हुँदै आएको छ ।
जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए ।
लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।
प्रतिक्रिया