वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक वनमा आगजनी गरेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का मैते तामाङ, विकास भुजेल र सविन सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

यस्तै, नमोबुद्ध नगरपालिका–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।