काफल बेचेर मनग्य आम्दानी
दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीय गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त छिन् ।
एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गदै आएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्छिन् । उनी भन्छिन्, “अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरि यहीँ चोकमा बसेर बिक्री गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।”
सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्छिन् । प्रति माना एक सय रुपैयाँमा काफल बिक्री गर्ने गरेको वादीले बताइन् । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उनको भनाइ छ । वादीले गत वर्ष काफल बिक्रीबाट ४० हजार बढी आम्दानी गरेको बताइन्।
बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।
काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना ५० देखि एक सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आएकी ५० वर्षीय लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउछिन् । काफल बेचेर हालसम्म १५ हजार रुपैयाँ आम्दानी गरेको बताउँछिन् ।
यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दै आएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष २५ हजार रुपैयाँ आम्दानी गरिन् ।
स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा ३० हजारदेखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आएकी निमा पुनले बताइन् । उनका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताइन् ।
ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसबाट भएको आम्दानीले उनीहरू कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन् ।
प्रतिक्रिया