जमानत मिलेसँगै केजरीवाल लोकसभा चुनावको प्रचारमा जाने

जमानत मिलेसँगै केजरीवाल लोकसभा चुनावको प्रचारमा जाने

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

अदालतले उनलाई आगामी जुन २ मा जेल फर्किने गरी जमानत दिएको हो । केजरीवाललाई मदिरा घोटाला प्रकरणमा सुरुमा त्यहाँको इनकम ट्याक्स डिपार्टमेन्डले हिरासतमा लिएको थियो ।

त्यसपछि उनलाई लोकसभा चुनावको मुखमा तिहाड जेलमा पठाइएको थियो । २१ मार्चदेखि हिरासतमा रहेका उनले अदालतले जमानत दिएसँगै अब २ जुनसम्मलाई लोकसभा चुनावको प्रचार गर्न पाउने छन् ।

अन्तरिम जमानतको घोषणा गर्दै अदालतले केजरीवालको गिरफ्तारीमा चुनौती दिइएको मामिलाको सुनुवाइ पनि चाँडै सक्ने जनाएको छ । अदालतले भनेको छ, ‘हामी चाँडै सुनवाइ गरेर यस प्रकरणलाई टुंग्याउने कोसि गर्नेछौँ ।’ अदालतले अब लिखित आदेश सार्वजनिक गर्न बाँकी छ । त्यसपछि केजरीवाललाई दिइएको जमानतका शर्तहरूबारे थाहा हुनेछ ।

अदालतले जमानतको मुचुल्का जेल अधिकारीसामु प्रस्तुत गरेर केजरीवालको रिहाई चाँडो टुंग्याउन पनि भनेको छ ।

न्यायाधीश सञ्जीव खन्नाले भनेका छन्, ‘गिरफ्तारी पहिले या पछि गर्न पनि सकिन्थ्यो । २१ दिनले केही फरक पर्दैनथ्यो ।’