सुर्खेतलाई रारा कप कबड्डीको उपाधि

सुर्खेतलाई रारा कप कबड्डीको उपाधि

सुर्खेत– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेकाे छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई तथा महिलातर्फ सल्यानलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको हो ।

पुरुष फाइनमा सुर्खेतले ४७ अङ्क तथा दैलेखले २९ अङ्क प्राप्त गर्‍यो । यस्तै महिलातर्फ सुर्खेतले २९ तथा सल्यानले २७ अङ्क प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । पुरुषतर्फ जाजरकोट र सल्यान तृतीय भए ।

महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भए । प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका हुम्ला बाहेक नौ जिल्लाको टोली तथा महिलातर्फ डोल्पा, हुम्ला र रुकुम पश्चिम बाहेकका सात जिल्ला सहभागी थिए ।

तीन दिनसम्म चलेको प्रतियोगिताका विजेतालाई पूर्व सांसद गोपालबहादुर बम, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य टक्कबहादुर शाहीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

कर्णाली प्रदेश खेककुद विकास परिषद्को आर्थिक सहयोग तथा मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारातालको किनारमा पहिलो पटक कर्णाली प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता आयोजना गरिएको हो ।