बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित

बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित

महेन्द्रनगर - कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ । 

पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ फाइल सडक विभागमा पेस गरेको छ । ‘साइट’मा निर्माण व्यवसायीले काम गरिरहे पनि काम गरेबापत योजना कार्यालयले भुक्तानी दिन सकेको छैन । रु तीन अर्ब ६६ करोडभन्दा बढी लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको महाकाली पक्की पुल सुदूरपश्चिम प्रदेशको ठुलो योजना हो । तर पछिल्लो समय ‘भेरिएसन अर्डर’ मन्त्री परिषद्को निर्णयले टुङ्गो नलगाउँदा योजना निर्माण अवधि धकेलिँदै गएको छ । 

महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी कपिलप्रसाद पन्तले चालु आर्थिक वर्षमा पुल निर्माणका लागि रु ३५ करोड रकम प्राप्त भइ खर्च समेत भइसकेको जानकारी दिनुभयो । “निर्माण व्यवसायीले फिल्डमा काम गरिरहेको छ तर हामीसित भुक्तानी दिने पैसा छैन”, सूचना अधकारी पन्तले भन्नुभयो, “भिओ प्रक्रिया टुङ्गोमा पु-याउन दुई वर्षदेखि पहल भइरहेको छ ।”

उता पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेले पुल निर्माणको काम भिओलगायतका अल्झनले ढिलाइ भएको बताउनुभयो । “यसअघि काम गरेको रकम पाइए पनि अहिलेको कामको रकम पाउन गाह्रो छ”, उहाँले भन्नुभयो, “पुल निर्माणको समयावधि लम्बिँदै जानुमा हाम्रो दोष छैन ।” 

त्यसैगरी महाकाली पुलसितै जोडेर कञ्चनपुरलाई नेपाल- भारत र चीनको त्रिदेशीय नाका बनाउने भनिएको महाकाली करिडोर योजनामा पनि रकम अभावमा प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाका तिङ्करसम्म जोड्ने योजनाअनुरुप काम सुरु भएको महाकाली करिडोर योजनामा गत फागुनदेखि बजेट अभाव छ ।

“चैतको अन्तिमतिर रु पाँच करोड आएको थियो”, महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले भन्नुभयो, “रु १५/१६ करोड काम गरेकै भुक्तानी दिन बाँकी छ ।” उहाँले चालु आर्थिक वर्षको अन्तिमसम्म काम गर्न आयोजनालाई रु २० देखि २५ करोड रकम आवश्यकपर्ने बताउनुभयो । रकमका लागि माथिल्लो निकायमा माग गरिए पनि प्राप्त नभएको जोशीको भनाइ छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोरअन्तर्गत हाल साना ठूला गरी २० वटा ठेक्कामार्फत कामको बाडफाँट गरिएको छ । 

चालु आर्थिक वर्षमा ती योजनाका लागि विनियोजित रु २९ करोड ६५ लाख बजेट गत माघमै सकिएको थियो । “गत वर्ष रु ४० करोड बजेट सकिने बित्तिकै माथिबाट बजेट थप भएको थियो”, उहाँले भन्नुभयो, “चालु आवमा बजेट कम थियो हामीले थप माग गर्दासमेत आएन ।” तीन सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली करिडोरअन्तर्गत दार्चुलाको तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ ।

त्यस्तै कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा गत फागुनयता बजेट अभाव हुँदा निर्माण ढिलाइ भएको छ । कैलालीमा छ र कञ्चनपुरमा दुई प्याकेज गरी आठ वटा प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको छ । कैलालीमा लम्की-टीकापुरदेखि खक्रौला नाकासम्मको २९ किलोमिटर हुलाकी सडकमध्ये लम्कीदेखिको पहिलो आठ किलोमिटर सडकको काम गत वर्ष सकिएको थियो । बाँकी दुई वटा प्याकेजमा काम भइरहेको भएपनि बजेट अभावले गति सुस्त भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर बर्ख कडायतले जानकारी दिनुभयो ।

त्यसैगरी धनगढीको क्याम्पस रोडदेखि सत्तीसम्मको ६९ किलोमिटर खण्ड चार प्याकेजमा निर्माण भइरहेको छ । उक्त खण्डमा पर्ने कटनी खोलादेखि भजनीको कान्द्रा नदीसम्म १८ किलोमिटर डेढ वर्षअघि निर्माण भइसकेको छ । “फागुन यता आयोजनामा बजेट छैन”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा आएको रु ३९ करोड रकम सकिएको छ ।” 

इन्जिनियर कडायतका अनुसार बजेट अभावमा पनि निर्माण कम्पनीले काम गरेको रु २० करोडभन्दा बढी रकम तिर्न बाँकी छ । “थप बजेट माग गरेको फाइल अर्थ मन्त्रालयमा पेस भइसकेको छ”, उहाँले भन्नुभयो, “तर बजेट  प्राप्त भएको छैन ।”