तीन दिनका लागि बाँकेको जमुनाहा नाका बन्द

तीन दिनका लागि बाँकेको जमुनाहा नाका बन्द

खजुरा– बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । 

भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार राति १० बजेदेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 
सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको हो । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने उनले बताएका छन् । 

निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दै आएका छन् ।