खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री राई
ओखलढुङ्गा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीनरूपमा अन्त्य गरिने बताएका छन् । आज सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले पिउने पानीको अभाव सधैँका लागि अन्त्य हुनेगरि सरकारले काम गरिरहेको बताएका हुन् ।
मन्त्री राईले देशका कतिपय ठाउँमा अझै खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नेपालीमाझ स्वच्छ खानेपानी पुर्याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिए। पिठ्युँमा पानी बोक्नुपर्ने दिनको अन्त्य गर्नेगरी आफू मन्त्रीमा नियुक्त भएदेखि काम गरिरहेको उनको भनाइ छ ।
‘पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यताको चाँडै अन्त्य हुन्छ । घरघरमा धारा लगेर सबै नेपालीलाई स्वच्छ पानी खुवाउन सरकारले काम गरिरहेको छ’, मन्त्री राईले भने, ‘खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था हुन्छ । स्रोतको सदुपयोगमा उपभोक्ता समिति, आमनागरिक र सबै सरोकारवाला सचेत हुनुपर्छ ।’ आफूले उपभोग गर्ने खानेपानी आयोजनाको संरक्षण र सरसफाइमा सरकारको मुख नताकी उपभोक्ता आफैँले काम गर्नुपर्ने मन्त्री राईको भनाइ थियो ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको सुक्खाग्रस्त क्षेत्रमा खानेपानीको समस्या रहेकाले बजेट व्यवस्था गरिदिन मन्त्री राईलाई आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद यज्ञराज सुनुवारले ओखलढुङ्गामा संघीय खानेपानी आयोजनाको कार्यालय नहुँदा खानेपानीका ठूला आयोजना सञ्चालन नभएको बताए । उनले संघीय खानेपानी कार्यालय स्थापना गर्न मन्त्री राईलाई अनुरोध गरे । आफू सांसद हुँदा जिल्लामा सुरु भएका खानेपानी आयोजनामा बजेट नहुनु र नयाँ योजना ल्याउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।
कार्यक्रममा सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य मानवीर राई, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, स्थानीय उपभोक्तालगायत सहभागी थिए।
ओखलढुङ्गामा सह-लगानी अन्तर्गत संघीय सरकारको आठ करोड ६४ लाख ८० हजार सात सय ६५, उपभोक्ताको नगद लगानी एक करोड २३ लाख ५४ हजार तीन सय ९५ र उपभोक्ताको दुई करोड ४७ लाख आठ हजार सात सय ९० बराबरको श्रमदान गरी कूल १२ करोड, ३५ लाख ४३ हजार नौ सय ५० लाख लागतको योजना सञ्चालन गरिएको थियो ।
योजना लागत अनुमानभन्दा कम खर्चमै सम्पन्न भएको छ । सगरमाथा घिमिरे निर्माण सेवाले सात करोड ७८ लाख २५ हजार एक सय ६८ रुपैयाँ ४७ पैसामा ठेक्का लिएको थियो । विसं २०७५ असार २५ देखि सुरु भएको योजनाको काम २०८० असारमा सम्पन्न भएको थियो ।
सह-लगानी खानेपानी योजना सञ्चालन भएपछि ओखलढुङ्गा सदरमुकाम क्षेत्रमा खानेपानी समस्या समाधान भएको योजनाका सचिव रुपेश शाक्यले बताए । विगतमा सदरमुकाममा खानेपानीको समस्या थियो ।
प्रतिक्रिया