स्याङ्जाका २१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जाका २१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनुनपररोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले बताए ।

गल्याङ नगरपालिकाभित्रका गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत एक वर्षको जनही १० हजार आठ सय प्रदान गरेको उनको भनाइ छ ।

यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही तीन हजार छ सय उपलब्ध गराइएको छ ।

भण्डारीले भने, ‘नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेका हौँ ।’

उनले यस वर्ष पालिकाबाट २१४ जनालाई मासिक शुल्क तथा छात्रवृत्ति गरी १३ लाख आठ सय भुक्तानी गरिएको बताए । अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सम्बन्धित क्याम्पस तथा विद्यालयले छात्रवृत्तिका लागि आवेदन माग गर्ने र प्राप्त आवेदनलाई कार्यविधिमा रहेर पालिकामा सिफारिस गर्नुपर्ने छ ।

मासिक शुल्क तिर्न नसकी शिक्षाबाट कोही पनि वञ्चित हुन नदिन र शिक्षामा सबैको पहुँच स्थापित गर्ने उद्देश्यसहित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

अभियानले नगरको शैक्षिक रुपान्तरणका लागि पनि महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ ।