नारायणीमा पुलको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा

नारायणीमा पुलको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको शिलान्यास गर्न चितवन पुगेका छन् । उनी हिजो नै चितवन गएका हुन् ।

चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल भरतपुर महानगरपालिकाका तर्फबाट आज शिलान्यास गर्न लागिएको हो ।

हाल नारायणी नदीमा भएको पुलसँगै जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं पुलका योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने छन् भने पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनको भनाइ छ ।