पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान
![पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान](https://snowberry.prixacdn.net/media/gallery_folder/Pokhari_IGw0d3dAAP_cjulsi6kke9d22epnywnhl5vqgohrclneu5bmcat79x6rayv2yjc2psm1fuk_LgB7kZZkjE_l6igc7oh9onapkfxoc0xdqxmrkgrj8nwou9mui38pvuirmuip1hh5zda84nk_uscLhuNct6_72wgeqzojfnd7mxz8rcuigab2am5bnx14usjkyd22oovgi86qzzsy5sepots_sYLF9pR55m_llgwyajywl2xm047fvvyddqtevnnzg25cumfotzfb8h0mmntrihsvzv0vc70.jpg)
टीकापुर - कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।
लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताउनुभयो । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।
“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,”उहाँले भन्नुभयो । यहाँका किसान वर्षात्को दुई महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन् ।
खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताउनुभयो । किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । किसानले वर्षाको पानी सङ्कलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया