सफा हिमाल अभियान; दुई मानव शव सङ्कलन

सफा हिमाल अभियान; दुई मानव शव सङ्कलन

काठमाडौं – नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानको क्रममा दुई वटा मानव शव फेला परेका छन् ।

हिमाल सफा गर्न खटिएको टोलीले सगरमाथाको चौथो क्याम्पबाट एउटा तथा ल्होत्से हिमालको शिखर नजिकबाट एउटा गरी जम्मा दुईवटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी ल्याएको छ ।

नेपाली सेनाले हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको जनाएको छ ।

त्यसैगरी सोही अभियानको दौरान हालसम्म ८ हजार ६ सय २० केजी फोहोर सङ्कलन गरी त्यसमध्ये २५० केजी कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको छ ।