‘पुजार सार्की’मा परीक्षा लिम्बू

‘पुजार सार्की’मा परीक्षा लिम्बू

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा नायिका परीक्षा लिम्बू प्रमुख भूमिकामा देखिँदै छन् । यस अघि उनी हिट दुई फिल्म जारी र छक्का पञ्जामा सहायक भूमिकामा अभिनय गरेकी थिइन् ।


अहिले चलचित्रको प्रचारमा व्यस्त रेहकी परीक्षाले लामो सकसपछि यस फिल्ममा अनुबन्ध भएको प्रसंग सुनाएकी छन् । अडिसनमार्फत फिल्ममा जोडिएकी उनले ६ वटा भिडियो निर्माण पक्षलाई पठाएपछि मात्रै फाइनल भएको बताउँछिन् ।

फिल्ममा गौमायाको भूमिकामा रहेकी परीक्षा भन्छिन्, ‘उहाँहरूले मंगोलियन युवती खोजिरहनुभएको रहेछ। अडिसन खुलेको थाहा पाएँ । फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ ।’

निर्माण पक्षले कास्कीको कास्कीकोट क्षेत्रको स्थानीय लवज खोजेकाले फिल्ममा फाइनल हुन लामो समय लागेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘स्थानीय लवजमा बोल्न सक्ने पात्रको खोजी रहेछ । भाषाले एकदमै महत्त्व राखेको छ । त्यही कारण उहाँहरुले लामो समय लिनुभयो । पछि अनुबन्ध भएपछि लवज र भाषाबारे उहाँहरुले नै अभ्यास गराउनु भयो ।’

फिल्ममा पश्चिमको भाषा बोल्नुपर्ने भएकाले पूर्वमा हुर्केकी परीक्षालाई अनुबन्ध हुन सकस भयो । यद्यपि छायांकन र पात्र निमार्णको प्रक्रिया भने रमाइलो भएको अनुभव उनीसँग छ ।

उनी भन्छिन्, ‘आफूबाट अर्को मान्छे हुन पाउँदा मलाई रमाइलो लाग्यो । वास्तविक मभन्दा फिल्मको ममा धेरै फरक छ । सुरुमा मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो ।’

परीक्षा यस चलचित्रमा ‘मैतबहादुर’को भूमिकामा रहेको नायक प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा छन्। प्रदीपसँग उनको यो पहिलो सहकार्य हो ।

जातीय छुवाछुतविरुद्धको कथामा आधारित यस फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ । यस फिल्मको कथा विकास सुबेदीले लेखेका हुन् ।