रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस्

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस्

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन नेपाल सरकारसँग हारगुहार गरेका छन् । काठमाडौंमा ‘राइडर’ सेवा दिएर परिवार धानिरहेका राई साथी र दलालको लहलहैमा लागेर २०८० भदौ १९ रुस गएका थिए ।

उनले ह्वासएपमार्फत अनुनय गरिरहेका छन् । मलाई त निश्चित मार्छन् । तपाईँहरूले सके बचाइदिनुस् । मारिहाले भने मेरो शव नेपाल पुगोस् । मेरा परिवारले राहत र क्षतिपूर्ति पाउन् ।

हिजोसम्म त मारे नि मार्लान् केही छैन, मरे पनि मरुँला भनेर यहाँ आएको हुँ भन्ने सोचिरहेको थिएँ । आज बिहानै छोरीले परीक्षा दिएको कुरा सुनाइन् । त्यसपछि झसंग भए । मेरो त परिवार छ, मरे भने त उनीहरू बिचल्ली हुन्छ ।

मलाई खोटाङकै शैलेन्द्र राईले सात लाख रुपैयाँ लिएर रुस पठाएका हुन् । शैलेन्द्रले मसँगै नेपाली एयरपोर्टबाटै आठ जनालाई पठाएका थिए ।

रुस पुगेको दोस्रो दिन नै म सेनामा भर्ती भए । भर्तीको भएको केही दिनमै युद्ध मैदानमा खटिएर युक्रेन पुगे । मसँगै १५ जना नेपालीको टोली पठाइरहेको थियो । जसमध्ये दुई जनाको मृत्यु भइसकेको छ । बाँकीमध्ये केही घाइते भएका छन् ।

युद्ध निकै भयानक रहेछ । पाइला–पाइलामा मृत्यु छ । आकाशमा शत्रुको ड्रोन घुमिरहेको हुन्छ । टाउको बाहिर निकाल्ने बित्तिकै लखेट्न आइपुग्छ । कति बेला शरीरमा बम खस्छ थाहा हुन्न ।

त्यो देखेपछि आत्तिएर केही नेपाली भाग्ने कोसिसमा लागे । ६ जना भाग्ने कोसिस गर्दागर्दै समातिए । थुनामा राखेर नराम्ररी यातना दिइयो । उनीहरूले भाग्ने कोसिस गरेपछि सबैलाई असर पर्‍यो । सगोलमा रहेका नेपालीहरू रुसी नागरिक रहेका समूहमा बाँडियौ । त्यसपछि एक/एक गरी राखिएको छ ।

समूहका सबै मारिए, भाषा नबुझ्दा फसे  

त्यसपछि हरि पाँच जना रुसी नागरिकसँगको समूहमा परे । युक्रेनका ड्रोनले ती पाँच जनामध्ये चार जनालाई एकपछि अर्को गर्दै निशाना बनाउँदै लग्यो ।

मसँग अन्तिममा एक जना साथी मात्रै बच्यो । ऊ ड्रोन अपरेटर थियो । निकै मिलनसार हामी निकै घुलमिल भइसकेका थियौ । उनीहरू दुई जनाले मात्रै धेरै दिन युद्ध मैदान र सेल्टरमा सँगै बिताए ।

ऊ धेरै राम्ररी ड्रोन चलाउँथ्यो । हामी सँगै अपरेसनमा जान्थ्यौ ।  एक अर्कालाई जोगाउन हर सम्भव प्रयास गर्थ्यौ र धेरै दिनसम्म जोगिएर बसेका थियौ ।

केही दिनअघि युक्रेनको ड्रोनले उसलाई झन्डै भेट्यो । युक्रेनको ड्रोन हामीलाई देखेपछि लखेट्न थाल्यो । हामी केही समय भाग्यौँ । म छलिएर जोगिए तर उसलाई निशाना बनाएर ड्रोनले बम खसाल्यो । उसले बम छलेर शरीरमा बाहिरी चोट लाग्नबाट जोगियो ।

शरीरमा चोट लागेन, तर ऊ शिथिल भएको थियो । शरीर हलचलसमेत गर्न सक्दैनथ्यो । उसलाई भित्री चोट लागेको थियो । युक्रेनको ड्रोन हिँडेपछि मैले उसको अवस्था ‘प्लाटुन कमान्डर’ लाई जानकारी गराए ।

अचेत अवस्थामा उसलाई बोकेर सेल्टरतर्फ अघि बढे । आधा बाटोसम्म अरु सेना पनि सघाउन आएका थिए । सेल्टरमा पुगेपछि कमान्डरले घाइतेको अवस्था सोधे ।

त्यही जवाफमा सिर्जना भएको गलत बुझाइको समस्याले अहिले मलाई  ‘मार्ने’ अवस्थामा पुर्‍याएको छ । बाहिरी चोट थिएन, यसैले कमान्डरले ऊ ‘नर्मल’ (सामान्य) छ रु भनेर सोधेको थियो ।

मैले ‘अब्नर्मल’ (असामान्य) भनेको थिए । मलाई रसियन नआउने सायद मैले अब्नर्मल भनेकोलाई नर्मल मान्यो । त्यसपछि कमान्डरले ऊ होसमा नआउँदासम्म १०–१० मिनेटमा हेरिराख्नु भन्यो तर उपचारमा लगेन ।

केही दिनअघि ऊ अकस्मात् मृत फेला पर्‍यो । मैले हेरिरहेको थिए तर बाहिर निस्केका बेला कति बेला श्वास छाडेछ थाहा पाइन । उसको मृत्युपछि कमान्डर मसँग बम्कियो । तैँले नर्मल भनेको थिइस्, कसरी मर्‍यो ? भनेर कमान्डर रिसायो ।

त्यसदेखि उसले मसँग राम्रो व्यवहार गर्न छाड्यो । खाना, पैसा केही पनि दिएको छैन । जंगलमा जे भेट्यो त्यही खान्छु । धेरै दिनदेखि भोकै बसेको छु ।

यसैक्रममा रुसी सेनाले मलाई धम्क्याउन थालेको छ । आपसमा रसियन भाषामा उनीहरू मलाई मार्ने कुरा गर्छन् । म बोल्न पो सक्दिन तर बुझ्ने त भएको छु । चार पाँच दिनयता तेरो हात काट्छौँ, खुट्टामा गोली हान्छौँ अनि मारेर फाल्छौ भनिरहेका छन् ।

आफूले कमान्डरलाई भेट्न खोज्दा दिएका छैनन् । दिनभर सुतिरहन्छ, तर भेट दिँदैन । सेटमा सिद्ध्याइदेऊ भन्छ । मार्छौ र काट्छौ भनेको यता म सुत्न सकेको छैन । अहिले मसँग रहेका हतियार र ड्रेस पनि खोसेर लगे । मेरो पासपोर्ट पनि जलाइसके । अहिले साथमा मोबाइल मात्रै बाँकी छ ।

तर यो सम्पर्क जति बेला पनि टुट्न सक्छ । मलाई जति बेला पनि मार्न सक्छन् । मलाई मारे पनि मेरो सन्देश सबैलाई सुनाइदिनुहोला । मेरो शव नेपाल ल्याउने प्रबन्ध मिलाइदिनुहोला । म नहुँदा मेरो परिवार बेसहारा बन्छ, राहत र क्षतिपूर्ति दिलाइदिन पहल गरिदिनुहोला ।

अभियन्ता भन्छिन्, ‘राज्यले सुन्नै चाहेन’

‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले रुसी सेनामा रहेका नेपालीको पिडा राज्यले सुन्न नचाहेको बताएकी छिन् ।

उनी भन्छिन्, ‘ मैले शुक्रबार साँझ युद्ध मैदानमा पुगेका हरिले आफू आबद्ध फौजले नै मार्ने धम्की दिएको बताए ।’

थाहा पाउने बित्तिकै उद्धारको लागि मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरसँग सम्पर्क गरे । साथै, परराष्ट्र मन्त्रालय, मन्त्रालयमातहतको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालका जनसम्पर्क सल्लाहकार बुद्धि जिसीलगायतसँग कुरा गर्दा कसैले पनि उद्धारको भाव नदेखाएको उनको दुखेसो छ ।

‘नागरिकको सवालमा राज्यले यसरी मौन साध्नु भनेको राज्य नभएको सरह  हो, उनले भनिन् ।