‘सी’ डिभिजन लिग : शीर्ष स्थानमा उक्लियो कर्णालीको क्लब आरसी–३२

‘सी’ डिभिजन लिग : शीर्ष स्थानमा उक्लियो कर्णालीको क्लब आरसी–३२

काठमाडौं - रेलिगेसन क्षेत्रमा संघर्षरत गोलबजार स्पोर्ट्स क्लबविरुद्ध २–१ को जित निकाल्दै आरसी–३२ स्पोर्ट्स एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

कर्णाली प्रदेश बाट राष्ट्रिय स्तरमा खेल्ने एकमात्र फुटबल क्लब आरसी–३२ स्पोर्ट्स एकेडेमी शिर्ष स्थानमा उक्लिए सङै कर्णालीका खेलकुद प्रेमीले बधाई दिइरहेका छन् । 

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आरसी–३२ लाई जित दिलाउन सुजन मगर र आशीष लावतीले गोल गरेका थिए। गोलबजारका नरेश राईले एक गोल फर्काएका थिए ।

खेलको ३७औँ मिनेटमा सुजनले गोल गरेपछि आरसीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ६४औँ मिनेटमा नरेशले गोल गर्दै गोलबजारलाई खेलमा फर्काएका थिए । इन्ज्युरी समयमा आशीषले निर्णायक गोल गरेपछि आरसी–३२ ले तीन अंक निश्चित गरेको हो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको आरसीले नौ खेलबाट १९ अंक जोडेको छ । आरसी–३२ भन्दा पछाडि रहेको वाग्मतीको आठ खेलबाट १७ अंक छ । तालिकाको पुछारमा रहेको गोलबजारले भने नौ खेल खेल्दा पाँच अंक मात्र जोडेको छ ।