शैक्षिक गुणस्तर सुधार गर्न पालिका र प्रधानाध्यापकबिच सम्झौता
रुकुमपश्चिम - रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले ४५ वटा विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ । शैक्षिक क्षेत्रमा सुधारका लागि गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका शिक्षा अधिकृत भूपालसिंह विष्टका अनुसार प्रधानाध्यापकहरूसँग भएको बैठकपश्चात् सो सम्झौता गरिएको हो । सामुदायिक विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धिमा थप सुधारका लागि ३९ बुँदे सम्झौता गरिएको छ। सम्झौतापत्रमा गाउँपालिकाको समग्र शैक्षिक सेवा प्रवाहलाई नतिजामुखी बनाई विद्यालयमा तोकिएको गुणस्तर, परिणाम, समय र लागत प्रभावकारी बनाउने कुरा उल्लेख गरिएको छ ।
विद्यालयको वार्षिक कार्यतालिका निर्माण र कार्यान्वयन, गुणस्तरीय शैक्षिक कार्य तथा वातावरण निर्माण, कक्षा अवलोकन, तथ्याङ्क तयार, सुशासनमैत्री गतिविधि सञ्चालन, नियमित बैठकलगायतका बुँदामा सम्झौता गरिएको छ ।
त्यसै गरी सम्झौतापत्रमा हरित विद्यालय र बालमैत्री शिक्षण सिकाइ, जङ्क फुडरहित खाजा खुवाउने, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ का प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेरगराउने, सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम विद्यालयको सामाजिक परीक्षण गर्नेरगराउने सम्झौतामा उल्लेख गरिएको छ ।
त्यसै गरी विद्यालयमा निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने र विद्यालयका प्रत्येक शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नेलगायतका विषय उल्लेख गरिएको छ ।
सम्झौतापछि सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले कार्यसम्पादन सम्झौताका सबै बुँदा अक्षरशः पालना हुने विश्वास व्यक्त गरे । उनले शिक्षा समिति र स्थानीय सरकारले गरेका निर्णयको पालना गर्न पनि निर्देशन दिए।
प्रतिक्रिया