भेरीगंगाका तत्कालीन हाकिम सहित १३ जनाविरूद्व भ्रष्टाचार मुद्दा

भेरीगंगाका तत्कालीन हाकिम सहित १३ जनाविरूद्व भ्रष्टाचार मुद्दा

वीरेन्द्रनगर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै लेखा अधिकृत मानबहादुर ठाडा, इन्जिनियर विजयकुमार खत्री, सवइन्जिनियर मोतीलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सहलेखापाल छविलाल सुनारविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्स्ट्रक्सनका प्रोपाइटर नवराज ढकाल र एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्री पनि मुछिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।

अख्तियारले फर्महरुसँग मिलेर धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी अन्य ठेक्काको अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्नेजस्ता कामबाट ३६ लाख ७८ हजार ५४३ रुपैयाँ राजस्व हानीनोक्सानी गराएको भन्दै  भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।