फिक्कलमा १५ शय्याको अस्पताल निर्माण

फिक्कलमा १५ शय्याको अस्पताल निर्माण

सिन्धुलीमाढी - सिन्धुली जिल्लाको फिक्कल गाँउपालिका–३ चनौटेमा १५ शय्याको अस्पताल निर्माण भएको छ ।

सङ्घीय सरकारको १० करोड रुपियाँ सहयोगमा २०७७ साल असारदेखि निर्माण सुरु गरिएको उक्त अस्पताल भर्खरै निर्माण सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । उक्त गाउँपालिकाको छ वटै वडामा स्वास्थ्य चौकीमात्रै रहेकोले १५ शय्याको अस्पताल निर्माण सुरु गरिएको हो ।

गाउँपालिकाका अनुसार भवन निर्माण दुई वर्षभित्र सक्ने लक्ष्यसहित गौरीमाई कन्ट्रक्सनले भवन निर्माणको जिम्मा पाएको थियो । तर विभिन्न कारणले निर्धारित समयमा नै सम्पन्न हुन नसकेपछि पटक÷पटक म्याद थप गरिएको थियो । सिन्धुलीको पूर्वी विकट क्षेत्रमा रहेको उक्त गाउँपालिकामा चिकित्सकसहितको अस्पताल नहुँदा स्थानीय बासिन्दा भरपर्दो उपचार खोज्दै अन्यत्र जान बाध्य हुँदै आएका छन् ।

उक्त भवन निर्माण कम्पनिले हस्तान्तरण गर्न बाँकी रहेको र अब चाँडै नै चिकित्सक, प्रयोगशालासहित अन्य आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

उहाँले उक्त अस्पताल निर्माणपछि फिक्कल गाउँपालिकाको महाभारत क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धी भएको बताउनुभयो । अस्पतालको भवन निर्माणसँगै स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

जिल्लाका स्थानीय तहले नागरिकलाई स्थानीय स्तरमा नै आधारभूत स्वास्थ्य सेवा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गर्न थालेको हुन् । जिल्लाका नौ वटा पालिकामध्ये मरिण गाउँपालिका, गोलन्जोर गाँउपालिका, हरिहरपुरगढी गाँउपालिकामा १५ शय्याको आधारभुत अस्पताल धमाधम निर्माण भइरहेको छ ।

सुनकोसी गाँउपालिकामा जग्गा विवादका कारण दुई वर्षदेखि रोकिएको १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम अहिले निर्माण प्रक्रिया अगाडि बढेको गाउँपालिकाले जनाएको छ । त्यस्तै, घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन वितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निमार्ण कार्य चाँडै सुल्झाएर निर्माण कार्य अगाडि बढाइने गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिनुभयो ।

जिल्लाको दुधौली नगरपालिका र तीनपाट गाँउपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइसकेको छ । कमलामाई नगरपालिकास्थित जिल्ला अस्पताल सिन्धुलीमा भने विशेषज्ञ सेवासहित  ५० शय्या सञ्चालन भइरहेको छ ।