कान्तिपुर सहकारीका सीबी लामा पक्राउ, करिब ८ अर्ब बचत हिनामिना गरेको आरोप

कान्तिपुर सहकारीका सीबी लामा पक्राउ, करिब ८ अर्ब बचत हिनामिना गरेको आरोप

काठमाडौं- कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपसहितको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लामालाई चितवनको नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख एवम् एसएसपी सानुराम भट्टराईका अनुसार लामालाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको छ ।

लामाविरुद्ध सहकारीको अर्बौँ बचत हिनामिना आरोपसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो ।

लामाले मात्रै कान्तिपुरसहितका अन्य सहकारीबाट ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप छ ।

जसमध्ये कान्तिपुर सहकारीको मात्रै दुई अर्ब बचत अपचलनबारेको जाहेरी परेपछि उनलाई अपराध अनुसन्धान कार्यालयले हिरासतमा लिएको हो ।

सुप्रिम र स्वर्णिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई जस्तै लामा पनि सहकारीको ठूलो रकम हिनामिनाका प्रमुख आरोपी हुन् ।