सामाजिक संजाल हेरेर भैँसीपालन : गाउँ नै भैँसीपालनतर्फ आकर्षित
सुर्खेत - चार वर्षअघि सुर्खेत भेरीगङ्गा नगरपालिका–११, चिप्लेका ३३ वर्षीय टोपेन्द्र राना कुवेत पुग्नुभयो । कोरोना महामारी भएको बेला उहाँ करिब छ महिना क्वारेन्टाइनमा बस्नुभयो । त्यसैबेला के गर्ने भनी मनमा अनेक कुरा खेल्यो ।
क्वारेन्टाइनमा बसेको बेला मोबाइलमा युट्युब हेर्दाहेर्दै उहाँले पशुपालन कसरी गर्ने, खेती कसरी गर्ने भन्ने विषय हेर्ने मौका पनि पाउनुभयो । त्यति बेलाको युट्युबबाट लिएको ज्ञानले बङ्गुरपालन र भैँसीपालनको योजना बनेको बताउनुभयो । करिब चार वर्ष कुवेतमा बसेर आएपछि उहाँले त्यो योजनालाई व्यवहारमा उतार्न खोज्नुभयो ।
घरमा सुरुमा दुई वटा भैँसी थिए । दुध दुहेर घरमै खान ठिक्क हुन्थ्यो । श्रीमती भूमि कराङसँग उहाँले आफ्नो योजना सुनाउनुभयो । त्यसैबेला सो ठाउँमा कृषि क्षेत्र विकास कार्यक्रमले दुध मूल्य शृङ्खलाको काम गर्दथ्यो । आफ्नो योजना अनुसार भैँसीपालन क्षेत्रमा कार्यक्रमले सहयोग गर्ने भएपछि उहाँ हौसिनुभयो ।
कार्यक्रमले सहलगानी (आधा आधा) मा सहयोग गर्न थाल्यो । फलस्वरूप अचेल रानासँग ३१ वटा भैँसी छन् । सुरुमा घरपरिवारका लागि खान ठिक्क हुने दुध अहिले दैनिक ९० लिटर उत्पादन गरेर बजारमा पठाउने गर्नुभएको छ । उहाँसँग अहिले २५ वटा दुहुना गाई छन् ।
राना विदेशमा क्वारेन्टाइनमा बस्दा युट्युब हेरेर सिकेको सिपले अहिले आफू भैँसीपालक बनेकोमा गौरव महसुस गरेको बताउनुहुन्छ । विदेशबाट आएको पनि करिब चार वर्ष बितिसकेको छ । भैँसी थप्ने क्रम जारी छ, भकारो सुधारको काम सञ्चाल गर्नुभएको छ । त्यस ठाउँका २० जना किसान समूह बनाएर घर घरमा कम्तीमा तीन/चार वटा भैँसीपालन गर्नुभएको छ ।
कोपिला भैँसीपालन कृषक समूह गठन गरी दुध सङ्कलन गर्ने गरिएको छ । समूहले किसानलाई ६५ देखि ६८ रुपियाँ प्रतिलिटर दुधको मूल्य दिने गरिएको छ । किसानबाट दैनिक पाँच सय लिटर दुध सङ्कलन हुने दुध वीरेन्द्रनगर बजारमा खपत हुने गरेको छ ।
समूहका अध्यक्ष भूमि कराङले कृषि क्षेत्र विकास कार्यक्रम लागु भएको तीन वर्षको अवधिमा बस्ती नै भैँसीपालन गाउँ बनेको बताउनुभयो । सबैले दुध बिक्री गरी आफ्नो आयस्तरमा सुधार गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
सानोतिनो गर्जाे टार्नुका साथै जग्गाजमिन, लत्ताकपडा र छोराछोरीलाई राम्रो ठाउँमा पढाउने हैसियतमा यहाँका किसान पुगेको उहाँको भनाइ छ । तीन वर्षअघि भैँसी नभएका किसानसँग अहिले घर घरमा कम्तीमा तीन÷चार वटा भैँसी छन् । गाईवस्तु र बाख्रा पालेका छन् ।
सो समूहको कुल लागत करिब १७ लाख छ । जसमा कृषि क्षेत्र विकास कार्यक्रमबाट आधा अर्थात् आठ लाख ७० हजार लगानी भएको छ भने बाँकी आधा समूहले गरेको छ ।
कार्यक्रमले किसानलाई भकारो निर्माण, दुध राख्ने क्यान खरिद, औषधी खरिद, प्राविधिक तालिम, उन्नत खाले घाँस खेती, नस्ल सुधार तथा व्यावसायिक साक्षरतालगायतका कार्यक्रममा सहयोग गरेको छ । यसका साथै पोषण बगँैचामा पनि सहयोग गरेको छ ।
यसै गरी सुर्खेतकै लेकबेँसी नगरपालिका–१०, साटाफाँटका २७ जना भैँसीपालक किसानले पनि दैनिक चार सय लिटरसम्म दुध उत्पादन गर्ने गर्द छन् । सिर्जनशील दुग्ध समूह गठन गरी किसानले दुध सङ्कलन गरेर नजिकैको सहकारीलाई दिने गर्नुहुन्छ ।
प्रतिकिसानलाई ७० रुपियाँ प्रतिलिटर दुधको मूल्य दिने गरिएको समूहका अध्यक्ष हुमप्रसाद लामिछानेले बताउनुभयो । त्यहाँका किसानलाई १७ वटा घाँस काट्ने मेसिन, १२ वटा भकारो सुधारमा कृषि क्षेत्र विकास कार्यक्रमले सहयोग गरेको छ ।
यति हुँदाहुँदै पनि यहाँका किसानलाई सिँचाइको समस्या छ । सय मिटर नजिकैबाट भेरी नदी बगेको छ तर छेउमै रहेका किसानका जग्गा बाँझै छन् । उनीहरूले सिँचाइको सुविधा उपलब्ध भएको खण्डमा अझै किसान कृषि तथा पशुपालनमा अग्रसर हुने बताउँछन् ।
कृषि क्षेत्र विकास कार्यक्रमका सञ्चार अधिकृत रत्नबहादुर बुढाले दुध मूल्य शृङ्खलामा कृषकलाई सहलगानीका आधारमा सहयोग गरेको बताउनुभयो । सानो सानो सहयोगबाट पनि कृषकमा व्यापक परिवर्तन आएको, निर्वाहमुखी व्यवसायलाई व्यावसायिक बनाउन सहयोग गरिएको उहाँको भनाइ छ । कार्यक्रमले सहलगानीको मोडलबाट सहयोग गरेको छ । ५० प्रतिशत किसान र ५० प्रतिशत कार्यक्रमबाट सहयोग हुने गर्दछ ।
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत समन्वय कार्यालय प्रमुख वासुदेव काफ्लेले कार्यक्रम कर्णालीका ५९ पालिकाका २८ हजार घरधुरी कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । दुध मूल्य शृङ्खला, तरकारी मूल्य शृङ्खला र बाख्रा मूल्य शृङ्खलामा विभिन्न कार्यक्रम गरिरहेको र किसान त्यसबाट प्रत्यक्ष लाभान्वित भएको उहाँको भनाइ छ ।
पाँच वर्षे कार्यक्रमको यो अन्तिम वर्ष हो । कार्यक्रमबाट एक हजार बढी समूह गठन गरी किसानलाई सङ्गठित बनाइ तरकारी कृषिउपज र प्रवर्धन गर्नु, उत्पादन भएका वस्तुको बजारीकरण गर्नु, कृषकको जीविकोपार्जनमा सहयोग गर्नुलगायतका काम कार्यक्रमबाट भइरहेको जानकारी उहाँले दिनुभयो ।
यो अवधिमा भएका कार्यक्रमबाट कृषकमा व्यापक सुधार आएको दाबी गर्दै प्रमुख काफ्लेले कृषकहरू व्यवसायीकरण बन्दै गएको, दुध, तरकारीले बजार पाएको, भकारो सुधारबाट कृषक पशुपालनमा आकर्षित भएको, प्राङ्गारिक मल प्रयोगमा किसान अग्रसर बनेको, कृषक र व्यापारीबिच सम्बन्ध स्थापित जस्ता उपलब्धि हासिल भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया