सडक बनाउने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु

सडक बनाउने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु

रुकुमपश्चिम - रुकुमपश्चिममा निर्माणाधिन सडकको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० निवासी अन्दाजी ५२ वर्षीया नौली बिकको मृत्यु भएको हो ।

शुक्रबार बेलुका चौरजहारी नगरपालिका –१३ स्थित आफन्तको घरबाट फर्कने क्रममा घर नजिकै पुगेको बेला माथिल्लो सडकबाट आएको ढुङ्गा लागेर घटनास्थलमै उहाँको मृत्यु भएको वडा अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरभन्दा आधा घण्टा परको पाखा भन्ने स्थानमा पुगेको बेला ढुङ्गाले लागेर खड्काको मृत्यु भएको हो । घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतीका लागि उक्त स्थानमा डोजरले बाटो खनिरहेको छ । करिब १५० मिटर तलको बाटो हिँडिरहेको बेला निर्माणाधिन सोहि सडकबाट आएको ढुङ्गा लागेर उहाँको मृत्यु भएको हो ।

यस अघि पनि सोहि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।