धनुषाका १६ वटा पालिका पूर्ण खोपयुक्त घोषणा

धनुषाका १६ वटा पालिका पूर्ण खोपयुक्त घोषणा

ढल्केबर - धनुषाका १८ पालिकामध्ये १६ वटा पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । बिहीबार जिल्लाको सबैला नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरेपछि धनुषामा पूर्ण खोपयुक्त पालिकाको सङ्ख्या १६ पुगेको हो । 

स्वास्थ्य कार्यालय धनुषाका खोप फोकल पर्सन राजदेव यादवले जिल्लाका धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिका बाहेक सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको बताउनुभयो । बाँकी दुई पालिका पूर्ण खोपयुक्त घोषण गर्न तयारी पूरा भइसकेको बताउनुहुँदै मिति तोक्न मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने र त्यसका लागि निरन्तर अनुगमन आवश्यक रहेको बताउनुभयो । उहाँले यो घोषणा सधैँ कायम राख्न महिला स्वास्थ्य स्वयंसेविका महत्त्वपूर्ण योगदान रहने जानकारी दिनुभयो ।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले सबैको साथ सहयोगका कारण मात्रै यो पालिकालाई पूर्ण खोपयुक्त घोषाण गर्न सफल भएको बताउनुभयो । खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने खोपहरु सबै बालबालिकाले पूर्णरुपमा लिएसँग यो घोषणा गरिएको जानकारी दिनुभयो ।