विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।

यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।

नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे। उनले एक चौका र एक छक्का प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। ३१ बलको सामना गर्दै दुई चौका र एक छक्का हिर्काए। ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए।

सोमबार बिहान किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो।

नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट हात पारे। नेपालले बंगलादेशका दुई ब्याट्सम्यानलाई रनआउट गरेको थियो।

नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको बंगलादेशका सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३/१३ रन जोडे । नेपालको कसिलो बलिङविरुद्ध अरु कुनै पनि बंगलादेशी ब्याट्सम्यानले दोरोहो रन जोड्न सकेनन् ।