ओशोधारा नेपालको त्रिदिवसीय योग साधना सम्पन्न
काठमाडौं– ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार सम्पन्न भएको छ ।
काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताएका छन् ।
यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरूका लागि यस पटक अमृत योगको आयोजना गरिएको हो ।
साधना समापनका अवसरमा विभिन्न २८ चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त विष्टले बताएका छन् ।
यस पटकको अमृत योगमा २२ जना सहभागी थिए । सहभागीहरूले आफ्नो योगाभ्यासको अनुभव सुनाउँदै आत्मिक शान्तिका साथै शारीरिक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरू हल भएकोले आफूले नियमित भाग लिँदै आएको बताए ।
प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यस प्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभई यो जीवनशैली भएको बताइन् ।
उनले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूर्ण बन्दै गएको जीवनलाई क्रमशः सहज बनाउँदै आइपर्ने समस्यालाई पनि त्यसै रूपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गरिन् ।
अर्का आचार्य पुजारीले योग साधना सिक्नु मात्र होइन यसको नियमित प्रयोग र अरूलाई पनि सिकाउने अठोट मुख्य कुरा हो भने ।
आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिएका थिए ।
सहभागीहरूले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नै छोडेर सन्यासी भएर हिँड्नु पर्ने नभई अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताएका थिए । सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने आयाेजकले जानकारी दिएको थियो ।
प्रतिक्रिया