युरोकप २०२४ : पोर्चुगल विजयी, रोनाल्डोको कीर्तिमानी
काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा पूर्वविजेता पोर्चुगलले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न खेलमा समूह डी अन्तर्गतको खेलमा चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।
पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेइकाओले एक गोल गरेका थिए । एक गोल भने चेक रिपब्लिकबाट आत्मघाती उपहार स्वरुप प्राप्त गरेको थियो । चेक रिपब्लिकका लुकास प्रोभोडले एक गोल गरेका थिए ।
खेलको ६२औँ मिनेटमा चेक रिपब्लिकका लुकासले सुरुवाती गोल गरेका थिए । तर ६९औँ मिनेटमा रिपब्लिकका रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल र चेक रिपब्लिकको १–१ को बराबरी हुन पुग्यो ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पोर्चुगलका फ्रान्सिस्कोले एक गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।
यो जितसँगै तीन अंक जोड्दै पोर्चुगल समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ । गोल अन्तरका आधारमा टर्की शीर्षस्थानमा छ ।
यस खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ६ वटा युरोकपमा सहभागी हुने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमानी बनाएका छन् । रोनाल्डोले सन् २००४ देखि युरोकपमा लगातार छौठौँपटक सहभागी भएका हुन् । पोर्चुगल र चेक रिपब्लिकको यो खेलसँगै युरोकपका ६ समूहको पहिलो चरणको खेल सकिएको छ ।
प्रतिक्रिया