नलिञ्चोकको सुविधासम्पन्न हेलिपोर्ट सञ्चालन

नलिञ्चोकको सुविधासम्पन्न हेलिपोर्ट सञ्चालन

काठमाडौँ - भक्तपुरको नलिञ्चोकमा निर्मित सुविधासम्पन्न हेलिपोर्ट सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउने योजनासहित निर्माण गरिएको उक्त हेलिपोर्ट शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै उहाँले भन्नुभयो, “हवाई पूर्वाधारतर्फको विकासले मुलुकको उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन सहयोग पुग्ने छ ।”

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलमा उडान तथा अवतरण गर्ने हेलिकोप्टर र जहाजको सङ्ख्या बढ्दै गइरहेका बेला हेलिप्याड सञ्चालनले विमानस्थलको उडान चाप व्यवस्थापन हुनुका साथै हेलिकोप्टर सेवाप्रदायक कम्पनीलाई पनि सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

सूर्यविनायक नगरपालिका–१०, नलिञ्चोकमा करिब ३३ रोपनी क्षेत्रफलमा बनेको उक्त हेलिपोर्ट गत आर्थिक वर्ष २०७९/८० को साउन १ गतेबाट निर्माण सुरु गरेर गत मङ्सिर २६ गते परीक्षण उडान गरिएको थियो ।

प्राधिकरणका अनुसार १७ वटा हेलिकोप्टर पार्किङ क्षमताको यस हेलिपोर्टमा एकै पटक चार वटा हेलिकोप्टरले उडान तथा अवतरण गर्न सक्ने छन् । सुरक्षा तथा आपत्कालीन उद्धार, मेडिकललगायतका हेलिकोप्टर भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण हुने छन् । 

हेलिकोप्टरको उडान तथा सञ्चालन विधि र प्रव्रिmया नै फरक भएकाले हवाई सुरक्षामा सुधार ल्याउन नलिञ्चोकमा हेलिपोर्ट निर्माण गरिएको प्राधिकरणले जनाएको छ । 

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २७ वटासम्म हेलिकोप्टर पार्किङ हुँदै आएका छन् । विमानस्थलमा पार्किङ अभावका कारण हेलिकोप्टर उडान तथा अवतरण गर्न अप्ठ्यारो, सुरक्षाको दृष्टिकोणले खतरा र हवाई ट्राफिक बढेको भन्दै व्यावसायिक उडान नलिञ्चोकमा गरिए पनि त्यसको सञ्चार, नियन्त्रण भने विमानस्थलबाटै हुने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.२ नटिकल माइल (तीन मिनेटको हवाई दुरी) टाढा रहेको यो हेलिपोर्टमा टर्मिनल भवन, चेकिङ काउन्टर, अफिसलगायतका संरचना निर्माण गरिएको छ । हाल नलिञ्चोकमा हवाईजहाजका लागि बनाइएको लोकेटर स्टेसन सञ्चालनमा छ । 

यो हेलिपोर्टमा स्थायी इन्धन ट्याङ्क, फायर फाइटिङ कक्ष, यात्रु प्रतीक्षालय, टर्मिनल भवन, कन्फेक्सरी सप, हेलिकोप्टर कम्पनीका लागि कार्यालय र हेलिकोप्टर मर्मतसम्भारका लागि ह्याङ्गरसहितको सुविधा रहने छ । हाल मुलुकमा १२ हेलिकोप्टर सेवाप्रदायक कम्पनीका ४० हाराहारी हेलिकोप्टर रहेकोमा अब हरेक हेलिकोप्टर कम्पनीको एक/एक वटा हेलिकोप्टरले अनिवार्य रूपमा नलिञ्चोकस्थित हेलिपोर्टबाट सेवा सञ्चालन गर्नुपर्ने छ । त्यसबाहेक अन्य हेलिकोप्टर बेसका आधारमा केही काठमाडौँ र बाहिर जिल्लाबाट सेवा दिनुपर्ने छ ।