अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन

सिन्धुलीमाढी - सिन्धुली जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा आएको छ । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बिहीबार कमलामाई नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गर्नुभएसँगै दुई वटा स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा आएको हो । यसअघि गत जेठ ३० गते मरिण गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा गरिएको थियो ।

प्रदेश सरकार र कमलामाई नगरपालिकाको सहकार्यमा नगरपालिकाभित्र विद्यालयबाहिर रहेका चार वर्षदेखि १३ वर्ष उमेर समूहका विशेष आवश्यकता (अपाङ्गता) भएका २६ जनासहित २८१ जना बालबालिकालाई विभिन्न मितिमा पायक पर्ने विद्यालयमा भर्ना गराएर उक्त कार्यक्रमको घोषणा गरिएको नगरपालिकाले जनाएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रममा सामाजिक विकासमन्त्री मोक्तानले प्रतिबद्धतापत्र पढेर सुनाउँदै चार वर्षदेखि १३ वर्ष उमेर समूहका बालबालिकालाई आधारभूत तहको शिक्षामा पहुँच पु¥याउन सो घोषणा गरिएको बताउनुभयो ।

अनिवार्य तथा निःशुल्क शिक्षा लागु गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले स्थानीय सरकार, राजनीतिक दल र नागरिक समाजको पनि त्यस्ता बालबालिकालाई विद्यालय ल्याउनुपर्ने दायित्व भएको बताउनुभयो । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलले अब कमलामाई नगरपालिकामा चारदेखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको जानकारी दिँदै अनिवार्य तथा निःशुल्क शिक्षा कडाइका साथ लागु गरिने बताउनुभयो ।

प्रदेश शिक्षा निर्देशनालय र कमलामाई नगरपालिकाबिच भएको सम्झौताबमोजिम अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम घोषणा गरिएको उहाँले बताउनुभयो । प्रदेश शिक्षा निर्देशनालयका निर्देशक देशनारायण चौधरीले प्रदेशका ११९ वटा पालिकामध्ये चालु आर्थिक वर्षमा १८ वटा पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम घोषणाका लागि प्रस्तावपत्र पेस गरेका र यही असार ८ गतेसम्म ११ वटा पालिकामा घोषणा हुने जानकारी दिनुभयो ।

बाँकी सात वटा पालिकामा असार २० गतेसम्म अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम घोषणा हुने उहाँको भनाइ छ । अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गर्न तोकिएका नौ वटा सूचक पूरा गर्नुपर्ने हुन्छ । नगर शिक्षा शाखा प्रमुख शङ्करराज लुइँटेलले नगरभित्र रहेका १६ हजार ७४ घर धुरी सर्वेक्षण गर्दा २८१ जना बालबालिका विद्यालयबाहिर रहेको फेला परेको र वडाको समन्वयमा ती बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गरिएको बताउनुभयो ।

जेठ २४ गतेदेखि २७ गतेसम्म वडास्तरमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम घोषणा गरिएको र बिहीबार पालिकास्तरीय उक्त कार्यक्रम घोषणा गरिएको उहाँले सुनाउनुभयो । कमलामाई नगरपालिकामा सामुदायिक विद्यालय ७२ वटा र संस्थागत विद्यालय २५ वटा छन् । ती विद्यालयमा २१ हजार नौ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगर शिक्षा शाखाले जनाएको छ ।