डुडुवा गाउँपालिकाको प्राथमिकतामा स्वास्थ्य

डुडुवा गाउँपालिकाको प्राथमिकतामा स्वास्थ्य

नेपालगन्ज - बाँकेको डुडुवा गाउँपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम र बजेटमा घर-घर स्वास्थ्य कार्यक्रमलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ । पालिकाको १६ औँ गाउँ परिषदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले डुडुवा गाउँपालिकाले जनताको स्वास्थ्यलाई सबैभन्दा बढी प्राथमिकता दिएर घरघर स्वास्थ्य कार्यक्रम लागु गर्ने बताउनुभयो । 

उहाँले घरघर स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुले सबैको घरदैलोमा पुगेर सबै जनताको निःशुल्क स्वास्थ्य जाँच सेवा, दिर्घरोगको पहिचान गर्ने, स्वास्थ्य कार्ड वितरण गर्ने र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने कार्य गर्ने बताउनुभयो । यसका साथै सोही कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क प्रयोगशाला जाँच र ग्रामीण अल्ट्रासाउण्ड सेवा निःशुल्क सञ्चालन गरिने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्षसँग स्वास्थ्य कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक निःशुल्क उपचार सेवा, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम, निःशुल्क प्रयोगशाला जाँच सेवालाई प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने बताउनुभयो ।

पालिकाभित्रका जनताको स्वास्थ्य सेवालाई सबैभन्दा बढी महत्त्व दिइएको सो नीति तथा कार्यक्रममा यस अघिबाट नै पालिकाले वडा नम्बर २, ५ र ६ मा स्वास्थ्य परीक्षण ल्याब सञ्चालन गरिएकोमा सो सेवालाई प्रभावकारी बनाउनुका साथै वडा नम्बर ३ मा पनि स्वास्थ्य ल्याब स्थापना गर्नका लागि आवश्यक उपकरणहरू मगाइसकेकोले केही समयमा सञ्चालन गरिने उल्लेख गरिएको छ । सो नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१ ।०८२ मा पालिका भित्र सामुदायिक आँखा स्वास्थ्य उपचार केन्द्र पनि स्थापना गरिने लक्ष्य राखिएको छ । 

सोही प्रकारले स्वास्थ्य चौकी बेतहनीको स्तरोन्नति गरेर प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा सञ्चालन गर्नका लागि विभिन्न उपकरण जडान गरेर विशेषज्ञ स्वास्थ्य सेवासँगै २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा पनि प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँ परिषदमा अध्यक्ष चौधरीले ५१ करोड २५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । 

सो बजेटमा सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ६४ लाख र सङ्घीय सरकारको राजश्व बाडफाड १० करोड ८४ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाडफाड ४४ लाख ८ हजार, आन्तरिक स्रोत ३ करोड ५२ लाख, ससर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान सङ्घ २ करोड, समपूरक अनुदान सङ्घ र प्रदेशबाट एक करोड ७० लाख र सशर्त अनुदान पुजिगत तर्फ ६५ लाखको बजेट प्रस्तुत गरिएको थियो । सो बजेट र नीति तथा कार्यक्रमलाई गाउँ परिषद्ले सर्वसम्मतले पारित गरेको थियो ।