नेपाल–चीन सम्बन्ध विस्तार गर्ने सहमति

नेपाल–चीन सम्बन्ध विस्तार गर्ने सहमति

काठमाडौँ - नेपाल र चीनबिच सहकार्य र साझेदारीलाई सहमतिका आधारमा थप विस्तार गर्ने सहमति भएको छ । मङ्गलबार काठमाडौँमा बसेको परराष्ट्र मन्त्रालयस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा आपसी हितका क्षेत्रमा सहयोगलाई थप प्रवर्धन गर्दै पारस्परिक लाभका एवं आर्थिक अवसर प्राप्तिका लागि अग्रसर रहने प्रतिबद्धतासहितको सहमति भएको हो । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइजोङले गर्नुभएको थियो । बैठकमा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगतिको समीक्षा भएको थियो । विगतमा भएका निर्णयको मूल्याङ्कन गर्दै बाँकी रहेका विषयको कार्यान्वयनमा जोड दिने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका प्रतिनिधिमण्डलले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका बलियो आधार, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको औँल्याउँदै यसैका आधारमा सम्बन्ध थप प्रगाढ बनाउने सहमति भएको छ । परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपालको विकासशील मुलुकमा स्तरोन्नति हुँदाको अवस्थामा विकास सहयोग अभिवृद्धि गर्न चीन सरकारको प्रतिबद्धताका लागि धन्यवाद प्रकट गर्नुभयो । 

बैठकमा चीनका उपविदेशमन्त्री वेइजोङले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको सराहना गर्नुभयो । द्विपक्षीय सम्बन्धलाई ऊर्जाशील बनाउन उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा पनि दुई देशका प्रतिनिधिमण्डलबिच गहन छलफल भयो । त्यसबाहेक सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना प्रवर्धनलगायत व्यापार, लगानी, पूर्वाधार विकास, सम्पर्क सञ्जालको विस्तार, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपाय र उपायबारे छलफल भएको थियो । 

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव विशेष कार्यक्रम र गतिविधिसाथ मनाउने निर्णयमा सहमति जनाएका छन् । त्यस्तै विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जानकारी दिएको छ । यसैबिच परराष्ट्र सचिव लम्सालले भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा मङ्गलबार रात्रिभोजको आयोजना गर्नुभयो । 

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा पूर्वोत्तर एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल र नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारी सहभागी रहनुभएको थियो । त्यसै गरी चिनियाँ प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ र चीनको परराष्ट्र मन्त्रालय तथा काठमाडौँस्थित चिनियाँ दूतावासका वरिष्ठ अधिकारीको सहभागिता थियो । 

चीनका उपविदेशमन्त्री वेइजोङले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोमबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको थियो । 

उपविदेशमन्त्री वेइजोङ चिनियाँ प्रतिनिधिमण्डलका साथमा सोमबार नेपाल आउनुभएको हो । उहाँ बुधबार नै स्वदेश फर्कनुहुने जनाइएको छ ।