राष्ट्रिय सभाबाट विनियोजन विधेयक सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट विनियोजन विधेयक सर्वसम्मत पारित

काठमाडौं– राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ सर्वसम्मत रूपमा पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरिएको हो ।

त्यसअघि विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

त्यस्तै बैठकमा बजेट आश्रित तीन वटा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको छ । राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ ।