अल्जेरियाको मरुभूमिमा १२ सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

अल्जेरियाको मरुभूमिमा  १२ सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

काठमाडौं -अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ ।

लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्‍याइएकाे आरोप लगाउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

लिबियाका अधिकारीका गैरजिम्मेवारीपनले अझै धेरै सिरियालीहरू लिबिया छोडेर अल्जेरियातर्फ जाने र थप घटना  हुने भन्दै  फारुखले लिबियाकालाई सचेत हुन आग्रह गर्नुभएको छ । यसअघि सन् २०१६ मा पनि २२ जना  सिरियाली नाइजरबाट प्रवेश गरेर अल्जेरियाको मरुभूमिमा हराएका थिए । पछि उनीहरुलाई सेनाले उद्धार गरेको थियो ।

सन् २०११ देखि सिरिया युद्धले ग्रस्त हुँदा अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । यो बीचमा लाखौँ नागरिक विस्थापित भएका छन् । अर्थतन्त्र र पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ ।