कर्णाली प्रदेशसभामा को बन्छ काङ्ग्रेस संसदीय दलको नेता ?

कर्णाली प्रदेशसभामा को बन्छ काङ्ग्रेस संसदीय दलको नेता ?

सुर्खेत - कर्णाली प्रदेशको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसको प्रदेशसभा संसदीय दलको नेतामा राजीव शाहलाई अगाडि बढाउन सभापति शेर बहादुर देउवाले तल्लो तहलाई निर्देशन दिइसकेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत्र २२ गते संसदीय दलका नेता जीवनबहादुर शाहीविरुद्ध वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा छन् । यद्यपि कर्णाली प्रदेशसभाका सदस्यहरुले जीवन शाही सङै सल्लाह गरेर संसदीय गतिविधि गरिरहेका छन् ।

काङ्ग्रेस एमाले बीच सत्ता सहकार्य हुने सहमति भएपछि एकाएक कर्णाली प्रदेशको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेस अप्ठ्यारोमा परेको छ ।

मुख्यमन्त्री यामलाल कंडेल सङ सत्ता साझेदारीमा विषयमा औपचारिक रूपमा छलफल गर्न काङ्ग्रेसलाई असहज भएको छ । संसदीय दलको नेता नहुदा नेपाली काङ्ग्रेसले प्रदेशसभामा स्पष्ट र एकताबद्व रूपमा आफ्नो उपस्थिति देखाउन सकिरहेको छैन ।

जीवन बहादुर शाहीलाई पार्टी सभापति शेर बहादुर देउवाले राजीव बिक्रम शाहलाई अगाडि बढाउन आदेश दिइसकेका छन् ।यद्यपि राजीव बिक्रम शाहले उपसभापति पुर्ण बहादुर खड्का र जीवन बहादुर शाही समेतको आशीर्वाद लिएर मात्र दलको नेता बन्ने अडान लिएका छन् ।

`कर्णालीमा हाम्रो नेता पुर्ण दाइ र जीवन दाइ हो, उहाँहरु सङ छलफल गरेर अगाडि बढ्नु मेरो राजनीतिक अनुशासन र इमानदारीता हो त्यही गरिरहेको छु  ´ शाहले भनेका छन् ।

राजीव शाहले संसदीय दलको नेता बन्न हतार नभएको बताउदै आएका छन् । हाम्रो दलको नेतालाई दुख परेको छ , पुर्वाग्रह राखेर मुद्दा चलाइएको छ यस्तो बेला हतारहतार दलको नेता परिवर्तन गर्ने कुरा प्राथमिकताको विषय होईन ।

संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले दुईदेखि तीन महिनाको बिचमा जीवन बहादुर शाहीको विषयमा अदालतबाट फैसला हुने सम्भावना रहेको प्रतिक्रिया दिएका छन् ।

राजीव शाह जीवन बहादुर शाही पछिका सिनियर नेता हुन् । तत्काल संसदीय दलको नेता परिवर्तन हुने भए राजीव बिक्रम शाहलाई अगाडि बढाउने काङ्ग्रेस शिर्ष तहमा सहमति भैसकेको छ ।

राजीव विक्रम शाहले संसदीय दलका लागि ०७९ मै दाबी गरेका थिए । केन्द्रीय सदस्यसमेत रहेका शाहले दलको नेतामा दाबी गरे पनि अन्तिममा आएर टिम विभाजन हुने परिस्थिति निर्माण भएपछि त्यसलाई रोक्न शाहीलाई नै समर्थन जनाएका थिए ।