ओली क्याबिनेटका यी दुई विवादास्पद मन्त्री

ओली क्याबिनेटका यी दुई विवादास्पद मन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका मन्त्रीहरुमध्ये कांग्रेसका ५ जना र एमालेका ४ समेत गरी ९ जना नयाँ अनुहार छन् । दलित र मुस्लिमको प्रतिनिधित्व शून्य रहेको र महिलाको उपस्थिति न्यून रहेको असन्तुष्टि देखिए पनि नयाँ अनुहारको बाक्लो उपस्थितिले केही सकारात्मक सन्देश दिन खोजेको छ । तर, ओली क्याबिनेटका दुई मन्त्रीका कारण सरकारको छवि धुमिल देखिएको छ ।

ओली क्याबिनेटका दुई विवादास्पद मन्त्री हुन्– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का ।

भण्डारी लोकतान्त्रिक समाजवादीका तर्फबाट मन्त्री बनेका हुन् भने खड्का नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको कोटाबाट मन्त्री बनेका हुन् । यी दुबै मन्त्रीको उपस्थितिले ओली सरकारको अनुहारमा धब्बा लगाइदिएको छ ।

देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने लक्ष लिएको सरकारमा सहभागी स्वार्थ बाझिने एवं विवादास्पद व्यक्तिको उपस्थितिले सरकारको नियतमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ ।

 

संसदमा कांग्रेस र एमाले मिलेको अवस्थामा स्पष्ट बुहमत पुग्दापुग्दै चार सिटको प्रतिनिधित्व गर्ने लोसपाबाट भण्डारीलाई किन मन्त्री बनाउनैपर्ने बाध्यता ओलीलाई आइपर्‍यो ? पञ्चायत र बहुदल कालमा १९ पटक मन्त्री बनिसकेका भण्डारीलाई कुन शक्तिका कारण मन्त्री बनाउनुपर्ने बाध्यता आइपर्‍यो ? यो प्रश्न कांग्रेस र एमालेतिर सोझिएको छ।

महन्थ ठाकुर नेतृत्वको लोसपाबाट मन्त्री बनाउनैपर्ने भए पनि भण्डारी विवादित भएकाले उनलाई स्वीकार गर्न नसकिने शर्त देउवा र ओलीले किन राख्न सकेनन् ? यो प्रश्न पनि ठूला दलतर्फ सोझिएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसले स्वार्थ बाझिने मन्त्रालयमा विवादित दीपक खड्कालाई किन पठायो ? र, प्रधानमन्त्री ओलीले पनि यो नाम किन स्वीकार गरे ? यो प्रश्न पनि गम्भीर छ ।

हिजो रवि लामिछानेलाई स्वार्थ बाझिएको हुनाले नैतिकताका आधारमा गृहमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने कांग्रेसले त्यस्तै स्वार्थ बाझिने गरी खड्कालाई उर्जा मन्त्रीको जिम्मेवारी दिएको छ ।