किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

काठमाडौं– आज साउन १ गते । महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार हरियै रंगको पहिरन लगाएर हिँडेको देखिन्छ । ।

परम्परागत रूपमा साउनलाई भगवान् शिवको महिनाका रूपमा मानिने गरिन्छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा कृपा मिल्ने धार्मिक मान्यता छ ।

यस महिनामा हिन्दु धर्मावलम्बीहरूले नजिकको शिवालयमा गई भगवान् महादेवलाई जल चढाउने परम्परा छ । यस क्रममा शिवलाई प्रसन्न पार्न बोलबम जाने, हरियो / पहेँलो रंगको कपडा धारण गर्ने परम्परा छ ।

यो महिना अधिकांश महिलाका हातमा मेहेन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमा अझ नेपाली हिन्दु नारीहरूका लागि साउन विशेष महत्वको मानिन्छ ।

अहिले साना बालिका, युवती, अधबैँसे नारी या वृद्धा सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ ।

साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको हुन्छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ ।

पछिल्ला वर्षमा बालिका र किशोरीमासमेत मेहेन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रूपमा लगाएका छन् भने कतिले धार्मिक महत्त्व विश्वासमा यसो गरेका छन् ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीक मानिन्छ ।

साउनमा चुरापोते र कपडासँगै हातभरि मेहेन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्ने पनि उत्तिकै छन् ।

त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्रै नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीलेसमेत हरियो चुरा पोते लगाउँदै आएका छन् ।

धार्मिक विश्वास

धार्मिक मान्यताअनुसार साउन शिवको आराधना गर्ने महिनाका रूपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको धार्मिक विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ ।

हरियो रङ सौभाग्यको प्रतीक हो । साउन हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफ्नो र पतिको आयु बढ्ने धार्मिक विश्वास छ ।

साउनमा हरियोको महत्त्व 

साउनमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ ।

बुध ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिष शास्त्रअनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।

तसर्थ, हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढवा दिने मान्यता छ ।

भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन छ । शिव आफैंमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाँडै प्रसन्न पार्ने विश्वास छ । तसर्थ महिलाहरू साउनमा हरियो मेहेन्दी, चुरा, पोते र साडी लगाउने गर्दछन् ।