भारतीय राजदूत सक्रिय हुँदा एमाले सशंकित !

भारतीय राजदूत सक्रिय हुँदा एमाले सशंकित !

काठमाडौं - पछिल्लो सत्ता परिवर्तनको खेलले नेपालभित्रका राजनीतिक शक्तिलाई मात्रै चकित बनाएन, बाह्य शक्तिलाई पनि रनभुल्लमा पार्यो । विशेषगरी नेपालको राजनीतिमा सुक्ष्म तहमा खेल्दै आएका भारत र चीन यसपटक नराम्रोसँग झुक्किए ।

सत्ता गठबन्धन, त्यो पनि दुई तिहाईसहितको गठबन्धन बनेसँगै दुवै देश अहिले अचम्ममा परेका छन् । सँगै दुवै देशले राजनीतिक छलफललाई पनि बढाएका छन् । चीन केही सामान्य गतिमा छलफलमा सहभागि भइरहँदा भारत भने खुलेरै अघि आएको छ । विशेषगरी नेपाली कांग्रेसको आगमनप्रति भारत खुसी देखिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कांग्रेससँगको छलफललाई बढाएका छन् । मंगलबारमात्रै श्रीवास्तवले ओली सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गर्दै सहभागि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र परराष्ट्रमन्त्रीको जिम्मेवारीमा आएकी आरजु राणा देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गरेका छन् ।

सिंहसँगको भेटवार्तालाई सामान्य मानिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा पत्निसमेत रहेकी आरजुलाई भेटेसँगै भने केही प्रश्न उठेका छन् । विशेषगरी राणाको नियुक्तिप्रति भारतले निकै चासो दिएको देखिन्छ । सोमबार नै भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरले खुसी साट्दै बधाई दिएका थिए ।

प्रधानमन्त्री ओलीप्रति भारत केही सशंकित देखिन्छ । नाकाबन्दीको विरोध र चुच्चे नक्सा प्रकाशनमा भूमिका खेलेका ओलीप्रति भारत पूर्ण विश्वस्त देखिन्न । यस्तोमा कांग्रेसका मन्त्रीलाई छानी–छानी भारतीय पक्षले बढाएको भेटवार्ताले एमालेलाई केही सशंकित बनाएको छ । भारतको व्यवहारले ओलीलाई अप्ठ्यारो पार्न खोजिएको त होइन भन्ने पनि प्रश्न गठबन्धनभित्र उठाएको छ ।