महिला एसिया कप : शुक्रबार पहिलो खेलमा नेपालको प्रतिस्पर्धा यूएईसँग

महिला एसिया कप : शुक्रबार पहिलो खेलमा नेपालको प्रतिस्पर्धा यूएईसँग

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । तीन साता अगाडि एसिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तीन वटा अभ्यास खेल खेलेको छ । तीनमा दुई हार र एक जित निकालेके नेपाली टिमले राम्रो तयारी गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।

प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ।

नेपाली महिला एसिया कप टोलीको नेतृत्व क्यानले इन्दु बर्मालाई दिएको छ। बर्मा कप्तान रहेको टोलीमा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।