सिमलताल बस दुर्घटना : २२ जनाको शव भेटियो, ४० अझै बेपत्ता

सिमलताल बस दुर्घटना : २२ जनाको शव भेटियो, ४० अझै बेपत्ता

नारायणी - चितवनको सिमलतालमा पहिरोसँगै बस खसेर बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । नवलपरासीतर्फ नारायणी नदीमा शव भेटिएको हो । गत २८ असारमा नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट दुईवटा बस त्रिशूलीमा खसेका थिए ।

बसमा सवारमध्ये थप दुई जनाको शव फेला परेसँगै भेटिनेको संख्या २२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भेटिएका २२ जनामध्ये ८ जनाको पहिचान हुन बाँकी छ । अझै ४० जना बेपत्ता छन् भने बस पनि भेटिएका छैनन् ।

गत शुक्रबार बिहान २७ जना यात्रु लिएर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ०३–००१ ख २४९५ नम्बर गणपति डिलक्स र ३८ यात्रुसहित पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स पहिरोसँगै त्रिशूलीमा खसेका थिए ।

दुर्घटनालगत्तै बसको झ्यालबाट निस्केका गणपति डिलक्सका तीन यात्रुले त्रिशूलीको भेलमा पौडेर ज्यान जोगाएका थिए । यसरी निस्कनेमा रौतहटका नन्दन दास, जोगेश्वर राय यादव र सुरज गुप्ता थिए । उनीहरूबाहेक ६२ जना बससँगै बेपत्ता भएका थिए ।

अहिले पनि करिब ५ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित उद्धारकर्मीहरूको टोली बेपत्ता बस यात्रुको खोजीमा लागिरहेका छन् । खोजीका लागि मोटरबोट, र्‍याफ्टिङ बोट, वाटर ड्रोन लगायतको प्रयाग गरिएको छ । बेपत्तामध्ये कतिपयलाई नदीले नेपालको सीमा कटाइसकेको आशंकामा भारतीय पक्षसँग समेत समन्वय गरेर काम भइरहेको छ ।