रोकियो न्यूरोडमा फुटपाथ निर्माण, महानगरले मंसिरसम्म काम अघि नबढाउने

रोकियो न्यूरोडमा फुटपाथ निर्माण, महानगरले मंसिरसम्म काम अघि नबढाउने

काठमाडौं- काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई आगामी मंसिर २ गतेसम्म रोक्ने सहमित जुटेको छ ।

फुटपाथ विस्तार र निर्माणको काम नगर्न स्थानीयवासीहरूसँग महानगरपालिकाले सहमति गरेको हो ।

सुमनराज भण्डारीको संयोजकत्वमा समितिले दिएको प्रतिवेदनका आधारमा उक्त सहमति जुटेको हो । त्यही सहमतिका आधारमा अब न्यूरोड क्षेत्रमा तत्काल निर्माण कार्य अघि नबढाइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

सोमबार न्यूरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने बिषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो ।

छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेश गर्ने सहमति भएको काठमाडौं महानगर वडा नम्बर २३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिए ।

९ सदस्यीय कार्यदलबाट बिभिन्न बिषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारबारे थप निर्णय हुने उनले बताए । उनले अहिले वडा नंवर २४ मा भइरहेको विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धर तथा वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबीचको वार्ताबाट यो सहमति भएको हो ।

महानगरले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक घटाएर फुटपाथ विस्तार थालेपछि स्थानीयबासी आन्दोलित भएका थिए । जनप्रतिनिधिहरूले सडकबाटै काम गरेका थिए । स्थानीयबासी र वडाअध्यक्षको आन्दोलनका कारण मेयर साह काम रोकेर सहमति गर्न तयार भएका हुन् ।