भारतमा वार्षिक बजेट सार्वजनिक, वृद्धिदर अनुमान ७ प्रतिशत

भारतमा वार्षिक बजेट सार्वजनिक, वृद्धिदर अनुमान ७ प्रतिशत

एजेन्सी– भारतमा आज आर्थिक वर्ष २०२४–२०२५ का लागि वार्षिक बजेट पेश हुँदैछ । विश्वकोे पाँचौँ ठूलो अर्थतन्त्र भएको भारतको अर्थतन्त्र नयाँ आर्थिक वर्षमा ७ प्रतिशतले बढ्ने त्यहाँको सरकारी अनुमान छ ।

त्यहाँकी वित्तमन्त्री निर्मला सीतारमणले लगातार सातौंपटक बजेट ल्याउन लागेकी हुन् । कुनै अर्थमन्त्रीले लगातार सातपटक बजेट पेश गरेको रेकर्ड वित्तमन्त्री निर्मलाले बनाउँदैछिन् । यसअघि मोरारजी देसाईले लगातार ६ आर्थिक वर्षको बजेट पेश गरेका थिए ।

आउँदो बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट पनि हो । बजेट पेश गर्न उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग अनुमति लिएकी थिइन् । उनले संसद्मा ११ बजेदेखि बजेट पढिरहेकी छिन् ।

बजेट ल्याउनुअघि वित्तमन्त्री सीतारमणले संसद्मा आर्थिक सर्वेक्षण २०२३–२४ पेश गरेकी थिइन् । चालु आर्थिक वर्षमाा महँगीदर ४.५ प्रतिशत रहेको र आगामी आर्थिक वर्ष २०२५–२६ मा घटेर ४.१ प्रतिशत कायम हुने उल्लेख छ ।

प्रधानमन्त्री मोदीले बजेट सत्रको पहिलो दिन ६० वर्षपछि कुनै सरकार लगातार तेस्रोपटक सत्तामा आएको र तेस्रो कार्यकालको पहिलो बजेट पेश गर्न लागेको बताएका थिए । आगामी बजेटलाई मोदीले अमृतकालको महत्वपूर्ण बजेट संज्ञा दिँदै यही बजेटले आगामी पाँच वर्षको कार्यदिशा र सन् २०४७ सम्म विकसित हुने भारतको आकाङ्क्षा पूरा गर्ने बताए ।

आगामी बजेटमार्फत भारत सरकारले आयकर ढाँचामा महत्वपूर्ण परिवर्तन र व्यापार सुधारमा ध्यान केन्द्रित गर्न खोजेको छ ।