देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं– पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्न सक्ने र डेङ्गुको सङ्क्रमण पनि बढ्न सक्ने आँकलन गरिएको उनले बताए । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिए ।

सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेङ्गु देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा दाहालले बताए । वर्षाकाबेला पानी सङ्कलन गरेर राख्ने, सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको उनले उल्लेख गरे ।