बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखको शपथ आज

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखको शपथ आज

काठमाडौं – बिहीबार बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिँदैछन्। सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

बागमती प्रदेश प्रमुख दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले बिहीबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्। शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो। उनीहरूलाई हटाएर कांग्रेस–एमाले गठबन्धनले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो।