बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

काठमाडौं - बंगलादेशमा राजनीतिक अस्थिरताका बीच मंगलबार राति अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन्।

राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरेका हुन्।

राष्ट्रपति र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको भेटमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको प्रेस सचिवले जानकारी दिए।

बैठकमा तीनै सेनाका प्रमुखको समेत उपस्थिति थियो। विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्य टुङ्गो लगाइने प्रेस सचिवले जानकारी दिए।

युनुस हाल देशबाहिर छन्। तर उनले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका छन्।

युनुसले ग्रामीण बैंकमार्फत गरिबीविरुद्ध अभियानका लागि २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।