सल्यानका किसान स्याउ खेतीतर्फ

सल्यानका किसान स्याउ खेतीतर्फ

सल्यान - पछिल्लो समय सल्यानका किसानले फलफूल खेतीलाई व्यावसायिक रूपमा लिन थालेका छन् । स्याउ, सुन्तला, किवीलगायतका फलफूल खेतीलाई यहाँका किसानले व्यावसायिक रूप दिई आत्मनिर्भर बन्ने अभियान थालेका छन् ।

स्याउ खेतीका लागि सल्यानको माटो र हावापानीले साथ दिँदा यहाँका किसान फलफूल खेतीतर्फ आकर्षित भएका छन् । कुमाख गाउँपालिका–३, सापडाँडाका कृषक अतिराम रानाले सुहाउँदो माटो र हावापानीले गर्दा फलफूल खेतीमा किसान आकर्षित भएको बताउनुभयो । सापडाँडाका स्थानीय मिलेर व्यावसायिक स्याउ खेती गरेको उहाँको जानकारी दिनुभयो । आठ रोपनी क्षेत्रफलमा व्यावसायिक खेती थालेका रानाका ४० बोटले फल दिन थालेको र चार सय बिरुवा हुर्किरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउ खेतीका लागि उचित हावापानी र माटो राम्रो मानिएको नम्रैना, सापडाँडा र अबिनेटाका करिब २० घरधुरीले व्यावसायिक स्याउ खेती थालेका छौँ ।”

आफूले रोपेका दुई सय बोटमध्ये झन्डै ३० बोटले यो वर्षदेखि फल दिन थालेको अर्का किसान कर्णबहादुर रानाले बताउनुभयो । स्याउको बिरुवा रोपेको करिब चारदेखि पाँच वर्षपछि फल्न सुरु गर्ने उहाँको भनाइ छ । स्याउ खेती विस्तारका लागि भारत र कालीकोटबाट बिरुवा ल्याउने गरेको उहाँले बताउनुभयो । अन्नबाली जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि स्याउ खेती सुरु गरेको उहाँले बताउनुभयो । 

कृषि विकास कार्यालय सल्यानले स्याउ खेतीका लागि जिल्लाको हावापानी मिल्दो रहेको जनाएको छ । कुमाख गाउँपालिका–३ को नम्रैना, सापडाँडा र अबिनेटा क्षेत्रलाई स्याउ खेती पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख रेसमकुमार बस्नेतले जानकारी दिनुभयो ।