कर्णाली सरकारले ल्यायो निजी घरको जोखिम बिमा

कर्णाली सरकारले ल्यायो निजी घरको जोखिम बिमा

 सुर्खेत - कर्णाली सरकारले विपद्का घटनाले घरबार विहीन भएका नागरिकहरुका लागि नयाँ योजना ल्याएको छ । विपदबाट निजी आवास क्षतिका कारण नागरिक घरबार विहीन हुने अवस्थाको अन्त्य गर्न यस वर्षदेखि प्राथमिकताका आधारमा निजी घरको जोखिम बिमा कार्यक्रम ल्याइएको हो ।

कानुनमन्त्री समेत रहेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार उक्त कार्यक्रमका लागि पाँच करोड रकम समेत विनियोजन गरिएको छ । मुख्यमन्त्री कँडेलले विपद् न्यूनीकरणमा प्रदेश सरकारले कामहरु गरिरहेको बताउनुभयो । ‘‘विपद न्यूनीकरण सबै तहका सरकार तथा सबै निकायहरुले ध्यान दिनुपर्छ,’’ कँडेलले भन्नुभयो, ‘‘हामी बिचको सरकार हौँ, कतिपय साधन, स्रोत र पहुँचको अभावमा विपद् न्यूनीकरणमा प्रभावकारीता हुन सकेको छैन । त्यसमा मेरो ध्यान गएको छ ।’’

कँडेलले सोमबार बसेको प्रदेश सभा बैठकमा यो वर्षको ६३ दिनमा प्रदेशभर भएका विपद् घटनाहरुको विषयहरु संसदलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कर्णालीमा मनसुनजन्य विपदबाट ६३ दिनको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । वर्षातका कारण आएको पहिरो तथा बाढीमा गरी ती व्यक्तिहरुले ज्यान गुमाएका हुन् । यो वर्षको विपद्जन्य मनसुन जेठ २८ गतेदेखि सुरु भएको र आइतबारसम्म विपदमा परी एक जना बेपत्ता भएका छन् । यस्तै, विपद् घटनामा परी २१ महिला ३४ पुरुष गरी ५५ जना घाइते भए । उपचारपछि सबै नागरिक घर फर्किएको जानकारी कँडेलले दिनुभयो ।

यस्तै, यो अवधिमा विपद् घटनाबाट १४५ परिवार विस्थापित भएको उहाँको भनाइ छ । जसमा निजी आवासतर्फ ९० पूर्णक्षति, ५९ घरमा आंशिक क्षति भएको छ । यस्तै, सार्वजनिक संरचनातर्फ १० पूर्ण र ६ वटामा आंशिक क्षति भएको छ । २५७ पशुचौपायको मृत्यु भएको छ ।

कानुन मन्त्रालयअन्तर्गतको विपद् शाखाले यो वर्षको विपद् पूर्व तयारी कार्य योजना बनाएको थियो । कँडेलले विपद् जोखिम सामूहिक दुर्घटना बिमा बापत ६ करोड ९० लाख रकम दिइएको बताउनुभयो । यस्तै, गत आर्थिक वर्षमा विपद् घटनामा परी ज्यान गुमाएका १६६ जनाका आफन्त तथा हकदारहरु तीन करोड ७२ लाख बिमा रकम भुक्तानी गरिएको छ ।

कँडेलले गत वर्ष मनसुनजन्य विपद्को आपतकालिन उद्धार तथा राहतका लागि भनेर नेपाली सेनालाई प्रदेश सरकारका तर्फबाट २२ लाख ७६ हजार भुक्तानी गरिएको पनि बताउनुभयो । साथै गत वर्ष नै जिल्ला विपद् समितिहरुलाई विपद् उद्धार, राहत कार्यक्रमका लागि पठाइएको मध्ये चार करोड ४५ लाखभन्दा बढी रकम अहिले पनि कार्यालयमा रहेको र उक्त रकम पीडितहरुलाई वितरण गर्न ताकेता गरिरहेको पनि कँडेलले बताउनुभयो । कँडेलले त्यस बाहेक आफूले विपद् अवस्थाबारे सुरक्षा निकायसँग आवाश्यक समन्वय गरिरहेको बताउनुभयो ।