तोडफोडको आशंकामा जर्मन सेनाको अड्डामा तालाबन्दी

तोडफोडको आशंकामा जर्मन सेनाको अड्डामा तालाबन्दी

एजेन्सी– अधिकारीहरूले संदिग्ध तोडफोडको अनुसन्धान गरिरहेकाले जर्मन सैन्य अड्डालाई बुधबार सिल गरिएको रक्षा मन्त्रालयले बताएको छ । पानी आपूर्तिमा छेडछाड भएको हुनसक्ने सञ्चारमाध्यमहरूले बताएका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता कर्नल अर्ने कोलाट्जले बर्लिनमा पत्रकारहरूसँग भने, ‘घुसपैठको प्रयास र तोडफोडको आशंकामा कोलोन–वाहन अड्डालाई बन्द गरिएको छ ।’

डेर स्पिगल पत्रिकाले प्रहरी र जर्मन सेनाको काउन्टर–इन्टेलिजेन्स सेवाले स्पष्ट घुसपैठको अनुसन्धान गरिरहेको बताएको छ । पत्रिकाले स्रोतलाई उद्धृत गर्दै बारमा प्वाल फेला परेको बताएको छ । 
बुन्डेसवेहर अड्डामा पानीको आपूर्ति ‘दूषित हुनसक्ने’ चिन्ताका बीच सैनिक र सर्वसाधारणलाई धाराको पानी नपिउन सल्लाह दिइएको पत्रिकाले बताएको छ । 

कोलोन–बोन विमानस्थलनजिकै अवस्थित कोलोन–वाहन अड्डामा जर्मन सशस्त्र बलका धेरै सैन्य र नागरिक सुविधाका साथै चान्सलर ओलाफ सोल्स र उहाँका मन्त्रीहरूले सरकारी भ्रमणका लागि प्रयोग गर्ने विमानहरू छन् । 

स्पिगलका अनुसार करिब चार हजार तीन सय सैनिक र एक हजार दुई सय नागरिक साइटमा काम गर्दछन् । यो अड्डा युक्रेनका लागि सैन्य सहायताका लागि महत्त्वपूर्ण केन्द्र पनि हो । स्पिगलले जर्मनीमा प्रशिक्षण प्राप्त गरेपछि युक्रेनी सैनिकहरू त्यहाँबाट पोल्यान्ड हुँदै नियमितरूपमा घर उड्ने बताएको छ ।