अस्पतालको भौतिक पूर्वाधार र सेवा विस्तारका लागि डा.सापकोटाको दौढधुप

अस्पतालको भौतिक पूर्वाधार र सेवा विस्तारका लागि डा.सापकोटाको दौढधुप

सुर्खेत-पूर्वी सुर्खेतको एकमात्र सरकारी अस्पताल मेहेलकुना अस्पतालले दैनिक सेवा सञ्चालन र भौतिक पूर्वाधारको विकासमा देखिएका समस्यालाई समाधान गर्न मुख्यमन्त्री तथा मन्त्रीपरीषद कार्यालय र सामाजिक विकास मन्त्रालयलाई आवश्यक पहल गरिदिन पत्राचार गरेको छ। 

अस्पताल प्रशासनले बजेट अभाव, भौतिक संरचनाको अधुरो निर्माण तथा विभिन्न चिकित्सकीय सेवामा देखिएका समस्याहरू समाधानका लागि मन्त्रालयसँग अनुरोध गरेको  छ। 

मेहेलकुना अस्पतालका प्रमुख सोजन सापकोटाले आर्थिक वर्ष ०८१ र ८२ मा अस्पताललाई प्रदान गरिएको बजेट अत्यन्तै न्यून रहेको र यसले दैनिक कार्यालय सञ्चालनमा गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै मन्त्रालयको ध्यनाकर्षण गराएका छन्। डा.सापकोटाले अस्पताललाई प्रयाप्त बजेट व्यवस्थापन गरिदिन मन्त्रालयलाई आग्रह गरेका छन्। 

५० शैयाको अस्पतालका लागि स्वीकृत भवन निर्माण कार्य अलपत्र रहेकोले तत्काल निर्माण कार्य पूरा गराउन समेत पहल गरिदिन अस्पतालले अनुरोध गरेको छ। 

आँखा उपचार सेवाको विस्तार साथै शल्यक्रिया सेवामा पनि अस्पतालले भौतिक संरचना र उपकरणको बन्दोबस्ती हुनुपर्ने माग गरेको छ। 

डायलासिस बिरामीको चापलाई  ख्याल गर्दै डायलासिस सेवा विस्तारका लागि आवश्यक उपकरण र भौतिक संरचना निर्माण गरिदिन मन्त्रालय संग अनुरोध गरिएको सापकोटाले बताएका छन्।