मेयर शाहसँग कोरियाली राजदूतको भेट, घरेलु रक्सी ब्रान्डिङबारे छलफल

मेयर शाहसँग कोरियाली राजदूतको भेट, घरेलु रक्सी ब्रान्डिङबारे छलफल

काठमाडौँ-काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपालका लागि कोरियाली राजदूत थेयङ पार्कबीच भेटवार्ता भएको छ।

राजदूत पार्क शाहलाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए। भेटका क्रममा काठमाडौँ र सियोलबीच भगिनी सम्बन्ध विस्तार, काठमाडौँमा निर्माण भइरहेका फल्चा शैलीका बस बिसौनीहरूका साथै दक्षिण कोरियामा नेपाली वास्तुकलाको प्रवर्द्धन र घरेलु मदिराको ब्रान्डिङबारे छलफल भएको शाहको सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत पार्कले नेपालमा व्यावसायिक शिक्षा तथा तालिम केन्द्र निर्माणका विषयमा जोड दिएका थिए। भेट दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेको पनि शाहको सचिवालयले उल्लेख गरेको छ।