लाजिम्पाटमा नाचघर माथि रोयल नेपाल रोधी क्लब सञ्चालन

लाजिम्पाटमा नाचघर माथि  रोयल नेपाल रोधी क्लब सञ्चालन

काठमाडौं - लाजिम्पाटमा रोयल नेपाल रोधी क्लब सञ्चालनमा आएको छ। युवा तथा सफल व्यवसायी सुनिल छेवाङ लामाले नेपालको सांस्कृतिक धरोहर र परम्परागत कला, संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले रोयल नेपाल रोधी क्लब विधिवत् रूपमा सञ्चालनमा ल्याएका हुन्।

रोधी क्लबको उद्घाटन भव्यताको साथ गत भदौ ९ गते भएकाे थियाे। लाजिम्पाटस्थित रेडिसन होटेल नजिकै रहेको यस रोधी क्लबले नेपाली कला, संस्कृति, र संगीतको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेको लामाले बताए।

‘रोधी क्लबले रोधी घरको परम्परालाई आधुनिकरूपमा पुनः स्थापित गर्दैछ। गुरुङ समुदायमा आपसी स्नेह र सांस्कृतिक आदानप्रदानको प्रतीकका रूपमा परिचित रोधी घरहरूमा गीत, संगीत र नाचको माध्यमबाट सामुदायिक भावना विकसित गरिन्थ्यो, त्यही भावना यो क्लबले आजको पुस्तामा पुनः स्थापित गर्न खोजिरहेका छौं,’ उनले भने।

यस क्लबका आउने हरेक व्यक्तिले नेपाली सांस्कृतिक धरोहरको जीवन्त अनुभव गर्ने अवसर पाउने उनको भनाइ छ। नेपाली परिकारको विशेष स्वादका साथ रोधी क्लबले आगन्तुकहरूलाई स्वागत गर्ने उनले बताए। ‘यहाँ आगन्तुकहरूले नेपाली परिकारका साथसाथै विभिन्न स्वादिष्ट खाद्य पदार्थहरूको आनन्द लिन सक्छन्। त्यस्तै यहाँ हरेक साँझ लोक दोहोरी, तामाङ सेलो, र नेपाली लोकगीतहरूको प्रस्तुति हुने गर्दछ,’ उनले भने।

तल्लो तलामा रहेको नाचघर रेस्टुरेन्ट संचालनको सफलता पछि सुनिलले रोधी क्लब सञ्चालनमा ल्याएका हुन् । उनको झन्डै दुई दशक लामो समयदेखि यहि व्यवसायमा छन् ।