एन्फा महिला लिगमा १० टोली
काठमाडौँ - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ ।
एन्फाले शनिबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरी लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ ।
जसमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका रहेका छन् ।
उद्घाटन खेलमा आइतबार कोशी प्रदेश र वालिङ नगरपालिका भिड्नेछन् । सिङ्गल राउन्ड रोबिनको आधारमा पहिलो चरणमा ४५ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिनबाट शीर्ष पाँच टोलीबीच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल खेल गरी कुल ६९ खेल हुनेछ ।
दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।
प्रतिक्रिया